काठमाडौं l नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ व्यक्तिलाई क्रियाशील सदस्यता दिन नहुने अडान राख्नुभएको छ। पार्टीमा नयाँ पुस्तालाई भित्र्याउनुपर्ने आवाज सशक्त रूपमा उठिरहेका बेला उहाँले भने नयाँ क्रियाशील सदस्यता वितरण गर्न नहुने धारणा सार्वजनिक गर्नुभएको हो।
पार्टीले लोकतन्त्रमा आस्था राख्ने सबै नेपालीलाई काँग्रेसको क्रियाशील सदस्यता लिन आह्वान गरेको केही समयमै खड्काले त्यसको प्रतिवाद गर्दै नयाँलाई क्रियाशील सदस्यता दिन नहुने र पुरानै सदस्यका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने दाबी गर्नुभएको छ।
उहाँले वक्तव्य जारी गर्दै पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम २०८२ पुस १० गते नै सम्पन्न भइसकेकाले अब नयाँ सदस्यता दिन नमिल्ने तर्क गर्नुभएको छ। त्यतिबेलाका क्रियाशील सदस्यलाई मात्रै कायम गरी महाधिवेशन गर्नुपर्ने उहाँको भनाइ छ।
निवर्तमान कार्यवाहक सभापति खड्काको यस अडानप्रति उहाँ निकटकै नेता तथा कार्यकर्ताहरूले असहमति जनाएका छन्। उनीहरूले पार्टीमा नयाँ सदस्यलाई निषेध गर्ने कदम उचित नहुने बताएका छन्।
यसअघि पनि खड्काले क्रियाशील सदस्यता अध्यावधिक नगर्न सर्कुलर जारी गर्नुभएको थियो। तर उहाँका समर्थकहरूले समेत त्यसलाई पूर्ण रूपमा पालना नगरी धमाधम क्रियाशील सदस्यता नवीकरण गरिरहेका छन्। उहाँको पछिल्लो अडानहरुवाट असन्तुष्ट भएर उहाँ निकटकै नेता तथा कार्यकर्ताहरु बिस्तारै नेता खड्काबाट टाढिन थालेका छन्।

















प्रतिक्रिया