सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद थप गर्ने सरकारको निर्णय


काठमाडौं l सरकारले गत भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदनपछि तयार गरिएको अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिँदै सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययनका लागि गठन गरिएको समितिको म्याद थप गरिएको बताए।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बाँस्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ। समितिका सदस्यमा काठमाडौँका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मिनी सोती र काठमाडौँकी डा. रेहना श्रेष्ठ नियुक्त भएका छन्।

यसैगरी, सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रम (United Nations Environment Programme) मार्फत ओजन तहलाई हानि पुर्‍याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल (Montreal Protocol) कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गरेको छ।

बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।