सप्तरी l सप्तरीको छिन्नमस्ता गाउँपालिका मा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले कडा आपत्ति जनाएका छन्।
बुधबार कार्यालय समयमै एक समूहले प्रमुख प्रशासकीय अधिकृत झाको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गरेको, कुर्सीबाट लडाएको, अपशब्द प्रयोग गरेको तथा कार्यालयका झ्यालका सिसालगायत सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको कर्मचारीहरूले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
कर्मचारीहरूले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन्।
गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार विद्यालय जस्तो संवेदनशील क्षेत्रलाई विवादमा तान्ने उद्देश्यले केही व्यक्तिले श्री माध्यमिक विद्यालय लालापट्टी का विद्यार्थीहरूको दुरुपयोग गर्दै गाउँपालिकाविरुद्ध प्रदर्शन गराएका थिए। गाउँपालिकाले विद्यालयमा पंखा र खानेपानीजस्ता आधारभूत सुविधा उपलब्ध गराइसकेको अवस्थामा पनि गलत अफवाह फैलाएर शैक्षिक वातावरण बिगार्ने प्रयास भएको उनको भनाइ छ।
घटनापछि गाउँपालिकाका कर्मचारीहरूले चारबुँदे माग सार्वजनिक गर्दै दुर्व्यवहार र तोडफोडका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै, बालबालिकालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन्।
कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति र दोषीमाथि कारबाही नभएसम्म कार्यालयको नियमित कामकाज प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा विधिको शासन र कानुनी राज्यको उपहास गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गर्न तथा गाउँपालिकाको विकास र शान्ति–सुव्यवस्थामा खलल नपुर्याउन सबै पक्षसँग अपिल गरिएको छ।



















प्रतिक्रिया