अयोध्यामा राम मन्दिर दर्शनपछि आज स्वदेश फर्किंदै रवि लामिछाने


काठमाडौं l भारत भ्रमणमा रहेका रवि लामिछानेले अयोध्या पुगेर राम मन्दिरमा दर्शन तथा पूजा गरेका छन्।

लामिछाने पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन्। उनीहरूले राम मन्दिरमा पूजा–आराधना गरेपछि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

रवि लामिछाने जेठ १८ गते भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका थिए।

भारत बसाइका क्रममा उनले नरेन्द्र मोदी, एस जयशंकर, अमित शाह तथा नितिन नवीनसँग भेटवार्ता गरेका थिए। साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए।

यस भ्रमणलाई रास्वपाले नेपाल–भारत सम्बन्ध, लगानी, विकास र आपसी सहकार्यका विषयमा केन्द्रित राजनीतिक तथा कूटनीतिक संवादका रूपमा प्रस्तुत गरेको छ।