काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले सामाजिक सञ्जालमार्फत आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
शनिबार साँझ आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत उनले लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?”
प्रधानमन्त्री शाहको उक्त पोस्टलाई हालै सार्वजनिक भएको एक विवादास्पद घटनाप्रति गरिएको व्यङ्ग्यका रूपमा हेरिएको छ। पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेल ले “म्यासेज गर्दिम?” भन्दै टिप्पणी गरेका छन् भने भिक्टर पौडेल ले “नाई फेरि उठाउन आउला पुलिस” भन्दै प्रतिक्रिया जनाएका छन्।
उक्त टिप्पणीको पृष्ठभूमिमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर सम्बन्धी घटना रहेको बुझिएको छ। बिहीबार पुष्करले आफूलाई राजदूत नियुक्त गरिदिन अनुरोध गर्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरी छाडेको थियो।
प्रधानमन्त्री शाहको पछिल्लो पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा रहेको छ भने प्रयोगकर्ताहरूले यसलाई समसामयिक राजनीतिक घटनाक्रममाथिको व्यङ्ग्यात्मक प्रतिक्रिया भनेर टिप्पणी गरेका छन्।

















प्रतिक्रिया