श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाहीमा


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय हर्क साम्पाङ राई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा हर्क साम्पाङ राईलाई आवश्यक कानुनी कारबाही गरिएको हो।

प्रहरीले सार्वजनिक गरेको सूचनामा ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जानकारीको आधारमा कारबाही गरिएको उल्लेख छ। साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न तथा नगराउन सम्पूर्ण चालक, सहचालक र यात्रुहरूलाई सचेत तथा जिम्मेवार बन्न आग्रह गरिएको छ।

प्रहरीले सडक सुरक्षाका लागि ट्राफिक नियमको पालना सबैका लागि अनिवार्य रहेको भन्दै सामाजिक सञ्जालमार्फत प्राप्त हुने गुनासोका आधारमा समेत आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।