सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल, प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्म स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्तापक्ष र विपक्षी दलहरूबीच निरन्तर छलफल भइरहेकाले बैठक सूचना टाँसेर सारिएको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले विरोध जनाउँदै सदन अवरुद्ध गर्दै आएका छन्।

यसैबीच, संसद्को अवरोध हटाउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले विपक्षी दलका नेताहरूसँग छलफल अघि बढाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् भवन मा भइरहेको छलफलमा नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्वु ओली लगायत सहभागी छन्।

छलफलबाट सहमति जुटेमा आजै सदनको अवरोध हट्ने अपेक्षा गरिएको छ।