काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमणको धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले संसदभित्रै उनीसँग भेटवार्ता गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठक चलिरहेका बेला गृहमन्त्री गुरुङ प्रतिपक्षी बेन्चमा पुगेर ओलीसँग घटनाबारे जानकारी लिएका हुन्।
ओलीका अनुसार गृहमन्त्रीले धम्की दिने व्यक्तिहरूमाथि आवश्यक कारबाही गरिने आश्वासन दिएका छन्। “उहाँले धम्की दिनेहरूलाई कारबाही गर्ने कुरा गर्नुभयो। मैले कानुनी प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छु,” ओलीले सञ्चारकर्मीसँग बताइन्।
उनले आफूलाई प्राप्त भएका केही धम्कीहरू विदेशबाट आएको र केही अपरिचित व्यक्तिबाट आएको जानकारी पनि गृहमन्त्रीलाई गराएकी थिइन्।
यसअघि प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ओलीले सनातन धर्मको पक्षमा तथा जबर्जस्ती धर्मान्तरणको विरोधमा संसदमा धारणा राखेपछि आफूलाई विभिन्न किसिमका धम्कीहरू आउन थालेको दाबी गरेकी थिइन्।
“अहिलेसम्म ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आइरहेका छन्। व्यक्तिगत रूपमा यस्ता धम्की सामना गर्न सक्छु, तर यो सिंगो सनातन धर्ममाथिको प्रहार हो,” उनले संसदमा भनेकी थिइन्।
उक्त विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले संसदभित्रै ओलीसँग भेट गरी घटनाबारे थप जानकारी लिएका हुन्। गुरुङ मंगलबार मात्र दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न नियुक्त भएका थिए।

















प्रतिक्रिया