प्रधानमन्त्री बालेनले फेरि कुन दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाउन सक्ने आङ्देम्बे चिन्ता


काठमाडौं l प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई अब सदनमा नखोज्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिभन्दा मुलुकका महत्वपूर्ण मुद्दा र जनसरोकारका विषय ठूलो भएको उल्लेख गरे।

आङ्देम्बेले प्रधानमन्त्री कुनै दिन फेरि “छापामार शैलीमा आएर उद्दण्डता मच्चाउन सक्ने” भन्दै आफूलाई त्यसको चिन्ता लागेको बताए। उनले प्रधानमन्त्रीले बोलेका विषयमै अल्झिएर संसदको अमूल्य समय खेर फाल्न नहुने धारणा पनि राखे।

“संसद प्रधानमन्त्रीलाई नचाहिएको हुन सक्छ, तर प्रतिपक्षलाई संसद चाहिएको छ,” भन्दै आङ्देम्बेले संसदलाई जनताका समस्या र राष्ट्रिय मुद्दामा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर संसद लामो समयसम्म अवरुद्ध वा अल्मलिन नहुने स्पष्ट पारे।