काठमाडौँ । ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले ललितपुरबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख सुवास बोहरा का अनुसार शुक्रबार बाराको सिम्रौनगढ बाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनापछि निगरानी गरिएको थियो।
ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक तथा सवार व्यक्तिहरूले अटेर गर्दै भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ।
प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल फेला पारेको हो। घटनास्थलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्यको सीतामढी जिल्लाका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय मोहम्मद सद्दाम रहेका छन्।
प्रहरीले घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोल, एक कार, एक मोटरसाइकल तथा पाँच थान मोबाइल फोन बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया