नेपाल–भारत सीमामा काँडेतार लगाउन सासंद आशिका तामाङको माग


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ ले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउने विषयमा समेत विचार गर्नुपर्ने बताइन्।

‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलका साथ अघि बढोस् भन्ने मेरो आग्रह छ। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाइयोस्,’ उनले भनिन्।

सांसद तामाङले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवादसँग सम्बन्धित विषयहरू अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले सीमा व्यवस्थापन, अतिक्रमणका गुनासा तथा राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारले स्पष्ट नीति र प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।