नेपाल टेलिभिजनका खरिद प्रक्रिया छानबिन गर्न चार सदस्यीय समिति गठन


काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार गत असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।

समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी खरिद प्रक्रियाको विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।

उक्त विषयहरूमा विभिन्न निकायमा उजुरी तथा गुनासो परेकाले मन्त्रालयले आफ्नो आन्तरिक जानकारी तथा मूल्याङ्कन प्रयोजनका लागि छानबिन समिति गठन गरेको बताएको छ।

नेपाल टेलिभिजनमा पछिल्ला केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका नाममा गरिएका विभिन्न खरिद प्रक्रियाको पारदर्शिता र कानुनी प्रक्रियाको पालनाबारे प्रश्न उठ्दै आएका छन्। यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन गरेको थियो।