काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको २६औँ बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने तथा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। साथै प्रधानमन्त्री बालेन्द्र शाह ले पनि संसद्मा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
बैठकमा सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नेछन्। खर्च कटौती प्रस्ताव पेश गर्ने सांसदको संख्या २० रहेको छ।
त्यसैगरी, विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेय ले जानकारी दिएका छन्।

















प्रतिक्रिया