ई–पासपोर्ट खरिद प्रकरणमा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारको म्याद


काठमाडौं l ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी छानबिनका क्रममा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद पठाएको छ।

बुढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारले राणाको घर ठेगानामा सूचना टाँसेर म्याद तामेल गरेको हो। राणा विदेशमा रहेको र सम्पर्कमा नरहेको जनाइएपछि वडाका प्रतिनिधिको रोहबरमा म्याद तामेली प्रक्रिया पूरा गरिएको बताइएको छ।

पासपोर्ट छपाइ तथा खरिद प्रक्रियामा राणाको संलग्नता रहेको दाबीसहित परेको उजुरीका आधारमा अख्तियारले प्रारम्भिक अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा बयानका लागि म्याद जारी गरिएको हो।

यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी तथा विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। हाल यो प्रकरणमा अख्तियारको छानबिन जारी रहेको छ।