अमेरिकी कार्यवाहक राजदूत र मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेट


काठमाडौं l नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले मन्त्रीको जिम्मेवारी सम्हालेकी गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै यसले अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप उत्साहित बनाउने बताए।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायता सम्बन्धी विषयमा मन्त्रालयले आवश्यक पूर्वतयारी गरिसकेको उल्लेख गर्दै उक्त विषयलाई निष्कर्षमा पुर्‍याउन पहल आवश्यक रहेको बताइन्। साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकासका लागि समयानुकूल कानुन निर्माणका विषयमा पनि छलफल भएको थियो।

भेटमा मन्त्री गौतमले न्यायमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहका कानुनहरूलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी डिजिटाइजेसनको काम भइरहेको जानकारी दिइन्। उनले एकीकृत कानूनी सहायता तथा संक्रमणकालीन न्यायका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको समेत बताइन्।