काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।
विराटनगर–३ स्थित ल क्याम्पसनजिक रहेको मन्त्री पराजुलीको निवासमा बिहीबार राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो। मन्त्रीको सचिवालयका अनुसार प्रहरी पर्खाल नाघेर घरभित्र प्रवेश गरेको थियो। घटनाका बेला मन्त्री पराजुली भने निवासमा उपस्थित थिएनन्।
यता युवराज कटेलले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त घरसम्म पुगेको बताएका छन्। उनका अनुसार प्रहरीले त्यो घर मन्त्रीको निवास भएको जानकारी नपाएको र फरार अभियुक्त पहिले सोही घरमा कोठा भाडामा बस्ने गरेको सूचनाका आधारमा खोजतलासका लागि पुगेको थियो।
कटेलले प्रहरीको कारबाही मन्त्री लक्षित नभएको स्पष्ट पार्दै अभियुक्तको सम्भावित लुक्ने स्थानको रूपमा उक्त घरमा निगरानी र खोजी गरिएको बताए। ‘प्रहरी टोली अभियुक्तकै खोजीमा त्यहाँ पुगेको हो, मन्त्रीलाई लक्षित गरेर कुनै कारबाही गरिएको होइन,’ उनले बताएका छन्।
घटनापछि विषयले राजनीतिक चर्चा पाएको छ। राजेन्द्र राईले शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै मन्त्रीको निवासमा प्रहरी प्रवेश गरेको विषय स्पष्ट पार्न माग गरेका थिए। घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
















प्रतिक्रिया