प्रधानमन्त्री बालेन कालापानी हाम्रो हो भन्ने प्रमाण छ, राष्ट्रियतामाथि शंका नगर्नुहोस्


चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाह ले आफ्नो राष्ट्रियताप्रति कुनै आशंका नगर्न आग्रह गरेका छन्। उनले नेपाल–भारत सीमा विवादका विषयमा स्पष्ट धारणा राख्दै कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालको दाबी प्रमाणसहित स्थापित रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले भने, “कालापानी हाम्रो हो भन्ने प्रमाण छ, त्यही भनेको हो। छिमेकीसँग बसेर मिलाउँछौँ।”

उनले सीमा विवाद समाधानका लागि कुनै तेस्रो मुलुक वा अन्तर्राष्ट्रिय मध्यस्थताको आवश्यकता नरहेको संकेत गर्दै ऐतिहासिक प्रमाण र कूटनीतिक संवादका आधारमा भारतसँग छलफल गरिने बताए।

पछिल्लो समय सीमा विवाद र त्यससम्बन्धी उनका अभिव्यक्तिहरूलाई लिएर भइरहेका चर्चा–परिचर्चाप्रति संकेत गर्दै प्रधानमन्त्री शाहले नेपालको भूभाग र राष्ट्रिय हितका सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

उनका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नेपालसँग पर्याप्त ऐतिहासिक तथा तथ्यगत आधारहरू सुरक्षित छन्। ती प्रमाणका आधारमा छिमेकी मुलुकसँग संवादमार्फत समाधान खोजिने उनको भनाइ थियो।

रास्वपा महाधिवेशनको मञ्चबाट आएको यो अभिव्यक्तिलाई राष्ट्रिय हितको रक्षा गर्दै छिमेकी मुलुकसँग सन्तुलित र कूटनीतिक सम्बन्ध कायम राख्ने सन्देशका रूपमा हेरिएको छ।