काठमाडौं । काठमाडौं विश्वविद्यालय (KU), धुलिखेलमा असार २ गते, मंगलबारका दिन सिभिल इन्जिनियरिङ क्लबको ‘सङ्कल्प २६’ को उद्घाटन समारोहको अवसरमा इको केयर प्राइभेट लिमिटेड द्वारा देशकै पहिलो राष्ट्रिय ब्रिक मेसनरी प्रतियोगिताको सफलतापूर्वक आयोजना गरियो।
उक्त प्रतियोगितामा देशभरका १२ वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक प्रचण्ड प्रधानले यो विश्वविद्यालय स्थापना भएदेखि हालसम्मको पहिलो यस्तो प्रकृतिको प्रयोगात्मक प्रतियोगिता भएको र भविष्यका सिभिल इन्जिनियरहरूका लागि यस्तो प्रतिस्पर्धा अत्यन्त आवश्यक रहेको बताउनुभयो।

इको केयर प्राइभेट लिमिटेडका संस्थापक अध्यक्ष सीए विनोद श्रेष्ठले यो कार्यक्रमको मुख्य उद्देश्य सिभिल इन्जिनियरिङका विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपसँग जोड्ने महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। यस प्रकारको प्रतियोगिताले विद्यार्थीलाई कलेज परिवेशभित्रै उद्योगसँग जोडिएको वास्तविक अनुभव प्रदान गर्दछ, जसले गर्दा उनीहरू अध्ययन पूरा गरे लगत्तै व्यावसायिक दक्षतासहित ‘रेडिमेड इन्जिनियर’ का रूपमा काम गर्न सक्षम बन्दछन्।

इको केयर प्राइभेट लिमिटेडले नेपालमा कुनै पनि कोइला, दाउरा वा जैविक इन्धन प्रयोग नगरी स्थानीय कच्चा पदार्थलाई स्वचालित मेसिनद्वारा उच्च चापमा प्रशोधन गरी इँटा उत्पादन गर्ने हरित प्रविधि (Green Brick Technology) विस्तार गर्दै आएको छ। यो प्रविधिबाट उत्पादित इँटाले त्रिभुवन विश्वविद्यालय (TU, IOE) द्वारा प्रमाणित ८ MPa भन्दा बढीको कम्प्रेसिभ बल हासिल गरेको छ र पानी सोस्ने क्षमता १०– १५% मात्र रहेको छ। परम्परागत इँटाभट्टाभन्दा फरक, यो कारखानाले वर्षायाममा समेत निरन्तर उत्पादन जारी राख्दछ।
कम्पनीका अनुसार यो प्रविधिले वायु प्रदूषण नियन्त्रणमा प्रत्यक्ष योगदान पुर्याउनुका साथै अर्बौँ रुपैयाँको कोइला आयात प्रतिस्थापन गर्न, स्वदेशी सिमेन्ट उद्योगको माग वृद्धि गर्न र हजारौँ नागरिकलाई वर्षभरि स्वदेशमै रोजगारी प्रदान गर्न सहयोग पुर्याउँछ। कार्बन उत्सर्जन न्यूनीकरणमार्फत नेपालको पर्यटन तथा जलविद्युत् क्षेत्रको वातावरणीय संरक्षणमा पनि यसको दीर्घकालीन योगदान रहने कम्पनीले जनाएको छ।

















प्रतिक्रिया