काठमाडौं – विश्वकै नम्बर–एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले सोमबार आयोजित एक कार्यक्रममार्फत उक्त मोटरसाइकल सार्वजनिक गरेको हो।
आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर निर्माण गरिएको याडिया किनेस विशेषगरी नयाँ पुस्ताका तथा प्रविधिमैत्री राइडरहरूलाई लक्षित गरेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ। परम्परागत इलेक्ट्रिक स्कुटर वा मोटरसाइकलको तुलनामा यसले थप रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने दाबी गरिएको छ।
याडिया किनेसमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले अधिकतम ३०० एनएम टर्क उत्पादन गर्छ। यस मोटरसाइकलले मात्र ३ सेकेन्डमा शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ।
नेपालका उकालो तथा चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै निर्माण गरिएको यो मोटरसाइकलले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ। यसमा ४.६ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसको सुरक्षा र दीर्घायु सुनिश्चित गर्न ४० भन्दा बढी सुरक्षात्मक सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) समावेश गरिएको छ।
आकर्षक डिजाइन र नवीन प्रविधिका कारण याडिया किनेसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरेको छ।
नेपाली बजारमा यस मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ। अत्याधुनिक प्रविधि, दमदार प्रदर्शन र प्रिमियम डिजाइन खोज्ने मोटरसाइकल पारखीहरूका लागि याडिया किनेस उत्कृष्ट विकल्प बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

















प्रतिक्रिया