झापा । नेपाली कांग्रेसका सभापति गहना थापाले पार्टीभित्र सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। झापामा आयोजित कार्यक्रममा बोल्दै उनले सदस्यता नवीकरण नगरेका व्यक्तिलाई पार्टीले सम्मान गर्ने भए पनि सक्रिय सदस्यका रूपमा मान्यता नदिने स्पष्ट पारे।
उनले भने, “अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यको रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन।”
थापाको यो अभिव्यक्ति विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा आएको मानिएको छ।
यस्तै, उनले पार्टीमा नयाँ पुस्ताको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गर्दै युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे। उनका अनुसार कांग्रेसभित्र सक्षम र पार्टी चलाउन सक्ने नयाँ पुस्ताका नेता–कार्यकर्ता उदाइरहेका छन्।
थापाले पुरानो नेतृत्व लामो समयसम्म पदमा अड्किएर बस्ने प्रवृत्तिको पनि आलोचना गर्दै भने, “नयाँ पुस्ताका कांग्रेस चलाउन सक्ने एक से एक साथीहरू आएका छन्। यिनीहरूलाई देखेर खुसी लाग्छ। अब यिनले सम्हाल्छन् कांग्रेस भनेर। झ्याम्म कुर्सी समातेर बसेर छ, त्यसपछि गएर हल्लिन पनि पाउँदैन, उठ्न पनि पाउँदैन, दायाँ–बायाँ पनि गर्न पाउँदैन, यसरी चल्दैन।”
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र पुस्तान्तरण, संगठनात्मक अनुशासन र सदस्यता व्यवस्थापनबारे स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

















प्रतिक्रिया