जनमत पार्टीका अध्यक्ष सीके राउत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रदेशसभा खारेजी’ एजेण्डाप्रति प्रतिक्रिया दिँदै राजनीतिक दलहरू आफ्ना एजेण्डा तय गर्न स्वतन्त्र रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै कुनै पार्टीले प्रदेशसभा खारेजीको प्रस्ताव राख्दैमा तत्काल प्रदेशसभा खारेज नहुने स्पष्ट पारेका छन्। उनका अनुसार संविधान संशोधनबिना यस्तो व्यवस्था परिवर्तन सम्भव छैन र वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन सहज नभएकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
राउतले भनेका छन्:
“सबै पार्टीले आ–आफ्नो राजनीतिक एजेण्डा लिन स्वतन्त्र छन्। कसैले राजतन्त्र पुनर्स्थापनाको कुरा गर्छन् भने कसैले प्रदेश खारेजीको। कुनै पार्टीले प्रदेशसभा खारेजीको एजेण्डा राख्दैमा प्रदेशसभा खारेज हुने होइन।”
यो प्रतिक्रिया रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक–आर्थिक प्रतिवेदनपछि आएको हो। उक्त प्रतिवेदनमा प्रदेशसभा खारेज गर्ने र स्थानीय तहको संख्या एकतिहाइले घटाउने प्रस्ताव समेटिएको छ।
यता रास्वपाका वरिष्ठ नेता तथा बालेन्द्र शाह ले भने चुनावअघि जनकपुरमा आयोजित सभामा प्रदेश संरचनालाई अझ बलियो र प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए। यसले रास्वपाभित्र संघीयता र प्रदेश संरचनाबारे बहस थप चर्किएको देखिन्छ।

















प्रतिक्रिया