भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठले पार्टीको प्रथम महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा सहभागी हुँदै महाधिवेशनले पार्टीलाई अझ सुदृढ, व्यवस्थित र लोकतान्त्रिक बनाउने विश्वास व्यक्त गरेका छन्।
मतदानपछि अनलाइन टिभी नेपालसँग कुरा गर्दै श्रेष्ठले नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने अपेक्षा व्यक्त गर्दै यसले पार्टीलाई संस्थागत विकासको नयाँ चरणमा पुर्याउने विश्वास व्यक्त गरे।
मतदानका क्रममा उनले भने, “आजको यो मत केवल व्यक्तिको पक्षमा होइन, सक्षम र सशक्त राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यको पक्षमा हो।”
श्रेष्ठले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पार्दै नेतृत्व चयनभन्दा पनि पार्टीको संस्थागत विकास र सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताए।
उनले महाधिवेशनबाट सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन भई पार्टी अझ मजबुत, प्रभावकारी र जनमुखी बन्ने विश्वास व्यक्त गरे। साथै, लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै पार्टीको उज्ज्वल भविष्य निर्माणमा सबै प्रतिनिधिको मत महत्वपूर्ण रहेको उनको भनाइ थियो।

















प्रतिक्रिया