मन्त्री यादवको निर्देशनपछि दुई सातामै ४२ करोडभन्दा बढी बक्यौता असुल


काठमाडौं l उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौंदेखि उठ्न नसकेको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्र असुल भएको छ।

मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिनुभएको थियो। त्यसपछि लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै ६३५ उद्योग तथा कार्यालयलाई बक्यौता भुक्तानी गर्न आग्रह गरेको थियो। सोही अभियानपछि अधिकांश उद्योगले बक्यौता चुक्ता गरेको लिमिटेडले जनाएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगहरूले वि.सं. २०४५ सालदेखि नै भाडा तिर्न बाँकी राखेका थिए। मन्त्रीको निर्देशनपछि बक्यौता असुली अभियानलाई तीव्र बनाइएकाले छोटो समयमै उल्लेखनीय सफलता प्राप्त भएको उहाँले बताउनुभयो।

भाडा नतिर्ने उद्योगमाथि कडा कदमस्वरूप लिमिटेडले विद्युत आपूर्ति समेत बन्द गर्न थालेको छ। सुरुआतमै २०० भन्दा बढी उद्योगको लाइन काटिएको थियो। तीमध्ये अधिकांशले बक्यौता तिरेपछि पुनः विद्युत सेवा जोडिएको छ। तर अझै पनि भाडा नतिर्ने ४५ उद्योगको विद्युत लाइन काटिएको छ।

लिमिटेडका अनुसार मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगहरूको विद्युत लाइन पुनः नजोड्न स्पष्ट निर्देशन दिनुभएको छ।

बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रुपैयाँ तथा कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा बाँकी रहेको छ। यी दुवै कम्पनीको विद्युत लाइन काट्ने प्रक्रिया पनि अघि बढाइएको लिमिटेडले जनाएको छ।

महाप्रबन्धक ओलीले विभिन्न दबाबका बाबजुद मन्त्री गौरिकुमारी यादवको स्पष्ट निर्देशनका कारण छोटो अवधिमै ४२ करोडभन्दा बढी बक्यौता असुल गर्न सम्भव भएको बताउनुभयो।