काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै खेल नेतृत्वको नियत र भूमिकामाथि प्रश्न उठाएका छन्।
राष्ट्रिय खेलकुद महासंघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले विश्वभर फिफा विश्वकपको रौनक छाइरहेका बेला नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले विश्व फुटबलमा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गरे। तर, नेपालमा भने आन्तरिक विवाद र नेतृत्वको कमजोरीका कारण फुटबल प्रतिबन्धको अवस्थासम्म पुगेको भन्दै उनले दुःख व्यक्त गरे।
‘हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। हामीजस्तै अल्पविकसित वा विकासशील मुलुकहरूले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन्। तर विडम्बना, हाम्रो फुटबल भने प्रतिबन्धको अवस्थामा छ,’ ओलीले भने।
नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक कलह र त्यसका कारण अन्तर्राष्ट्रिय फुटबल निकायबाट भएको हस्तक्षेपप्रति संकेत गर्दै उनले खेल नेतृत्वको नियतमाथि प्रश्न उठाए।
‘के कारणले नेपाल फुटबल संघमाथि बाह्य हस्तक्षेप भयो? त्यो हस्तक्षेप आमन्त्रण गर्ने खेल बुझ्नेहरू हुन् कि स्वार्थ बुझ्नेहरू हुन्? यसको जवाफ खोजिनुपर्छ,’ उनले भने।
खेलकुद क्षेत्रमा राजनीतिकरण, व्यक्तिगत महत्त्वाकांक्षा र गुटबन्दी हाबी हुँदा खेलाडीहरूको भविष्य संकटमा परेको ओलीको भनाइ थियो। संस्था र खेलाडीको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिका कारण नेपाली फुटबल अन्तर्राष्ट्रिय मञ्चमा अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए।
‘जब नेतृत्वले संस्था र खेलाडीभन्दा माथि उठेर सबै चीज आफ्नै लागि मात्रै गर्न खोज्छ, तब यस्तै दुर्घटना निम्तिन्छ,’ उनले भने।
ओलीले अब खेलकुद क्षेत्रलाई दलीय भागबन्डा, गुटबन्दी र नातावादबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्व योग्यता, क्षमता र स्वच्छ प्रतिस्पर्धाका आधारमा चयन हुनुपर्ने धारणा राखे। खेलकुदको दीर्घकालीन विकासका लागि वास्तविक खेलप्रेमी र विज्ञहरूलाई जिम्मेवारी दिनुपर्ने उनको सुझाव थियो

















प्रतिक्रिया