मध्यरातमा लगातार फोन गरेर मानसिक तनाव दिएको आरोप, अभिनेत्री उषा रजकद्वारा च्याट सार्वजनिक


काठमाडौं । अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमार्फत एक व्यक्तिमाथि आफूलाई मध्यरातमा पटक–पटक फोन गरेर मानसिक तनाव दिएको आरोप लगाउँदै च्याटको स्क्रिनसट सार्वजनिक गरेकी छन्।

उषाले ‘सन्जोक कार्की’ नामका एक डिजिटल क्रिएटरमाथि फेसबुक म्यासेन्जरमार्फत रातको समयमा लगातार अडियो कल गरेर आफूलाई ह्यारेस गरेको आरोप लगाएकी हुन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको स्क्रिनसटअनुसार ती व्यक्तिले उनको स्टोरीमा प्रतिक्रिया जनाएपछि राति ३:१९, ४:०४ र ४:२३ बजे लगातार अडियो कल गरेको देखिएको दाबी गरिएको छ।

उषाले यस्तो व्यवहारलाई सामान्य रूपमा लिन नहुने बताउँदै महिलामाथि हुने यस्ता देखिनमा साना लाग्ने दुर्व्यवहारलाई बेवास्ता गर्दा भविष्यमा गम्भीर समस्या निम्तिन सक्ने उल्लेख गरेकी छन्। उनले यस्ता घटनाविरुद्ध खुलेर बोल्नु सामाजिक जिम्मेवारी भएको धारणा पनि व्यक्त गरेकी छन्।

उनको पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। धेरै प्रयोगकर्ताले महिलामाथि हुने अनावश्यक सम्पर्क र मानसिक तनाव सिर्जना गर्ने व्यवहारविरुद्ध कडा कदम चाल्नुपर्ने प्रतिक्रिया जनाइरहेका छन्।