चितवन । वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने मुग्लिन–नारायणगढ सडकखण्ड तथा कालीगण्डकी करिडोरमा वर्षाका बेला हुन सक्ने पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक मेसिनरी र अपरेटर परिचालनका लागि तयारी गरेको जनाएको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपकरण पूर्वतयारीका साथ राखिएको हो।
उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहो लोडर तयारी अवस्थामा छन्। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहो लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर पनि तयारी अवस्थामा राखिएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पन्छाई सवारी आवागमनलाई यथाशीघ्र सुचारु गराउने उद्देश्यले उपकरणसँगै दक्ष अपरेटरसमेत तयारी अवस्थामा राखिएको लामिछानेले बताए।
देशकै व्यस्त राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड वर्षायाममा लेदोसहितको पहिरो र हिउँदमा सुक्खा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गरेको छ। काठमाडौँ प्रवेश गर्ने प्रमुख नाकाका रूपमा रहेको यस सडकबाट दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

















प्रतिक्रिया