काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा इन्धनको कृत्रिम अभाव देखिएको छ। मूल्य घट्ने पूर्वअनुमानमा केही पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट इन्धन नउठाउँदा उपभोक्ता सास्तीमा परेका छन्।
निगम स्रोतका अनुसार मूल्य घटेपछि नोक्सानी बेहोर्नुपर्ने आशंकाले केही व्यवसायीले पछिल्ला केही दिनदेखि इन्धन खरिद नगरेका थिए। त्यसको असरस्वरूप धेरै निजी पेट्रोल पम्पहरूले ‘पेट्रोल छैन’ भन्दै बिक्री वितरण बन्द गरेका छन्। निजी पम्पहरूमा इन्धन नपाएपछि सवारी चालकहरू सरकारी पम्पमा लामो लाइन बस्न बाध्य भएका छन्।
नेपाल आयल निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य समायोजन गरिएको भए पनि केही व्यवसायीको असहयोगका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको निगमको भनाइ छ।
निगमले उपभोक्तालाई दुःख दिने उद्देश्यले इन्धन लुकाउने, बिक्री रोक्ने वा नियतवश पम्प बन्द गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
इन्धन अभाव र कालोबजारीसम्बन्धी गुनासो बढेपछि निगमले काठमाडौं उपत्यकामा तीनवटा विशेष अनुगमन टोली परिचालन गरेको छ। आकस्मिक अनुगमनमार्फत बजारको अवस्था निगरानी गरिँदै आएको निगमले जनाएको छ।
अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको, इन्धन लुकाएको वा आपूर्ति अवरुद्ध पारेको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिने नेपाल आयल निगमले जनाएको छ।

















प्रतिक्रिया