काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिकको सहजताका लागि प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने दोहोरो प्रावधान हटाइदिन युएई पक्षसँग अनुरोध गर्नुभएको छ।
त्यसैगरी, नेपाल–युएईबीच भएको द्विपक्षीय श्रम सम्झौताका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनमा दुवै पक्ष सहमत भएका छन्।
भेटका क्रममा राजदूत शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराउनुभएको थियो। उक्त निर्णयका लागि मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
राजदूत शामसीले द्विपक्षीय सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग समन्वय गरेर आवश्यक जानकारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया