काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यभार सम्हालेको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको विवरणमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न नीतिगत तथा संरचनागत सुधार गरिएको उल्लेख छ।
मन्त्री मेहताका अनुसार मन्त्रालयले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। हालसम्म २१७ अस्पताल पोर्टलमा आबद्ध भएका छन् भने ३ हजार २५५ निःशुल्क शय्या छुट्याइएको छ। साथै, बिरामीको स्वास्थ्य अभिलेख सुरक्षित रूपमा एक अस्पतालबाट अर्को अस्पतालमा आदान–प्रदान गर्न सकिने गरी ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ।
अस्पताल सेवामा सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरिएको छ। सरकारी अस्पतालमा स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ। औषधि आपूर्तिलाई सहज बनाउन नेपाल औषधि लिमिटेडसँग सोझै औषधि खरिद गर्ने सम्झौता पनि गरिएको छ।
मन्त्रालयले देशका १४ सङ्घीय अस्पतालमा जलन (बर्न) उपचार युनिट स्थापना गरी सञ्चालनमा ल्याएको छ। यसका लागि २० करोड रुपैयाँको जलन उपचार कोष स्थापना गरिएको छ। साथै, दुर्गम तथा आपतकालीन उद्धारका लागि ११ वटा हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता गरिएको छ।
स्वास्थ्य बिमाअन्तर्गत २०८२ मङ्सिरसम्मको दाबीबापत अस्पतालहरूलाई १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। बिमा प्रणालीमा देखिएका विकृतिहरू हटाउन तत्कालीन तथा मध्यकालीन रणनीति कार्यान्वयन भइरहेको पनि उल्लेख गरिएको छ।
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गरिएको छ। हाल ११६६ नम्बरको हटलाइनमार्फत नागरिकलाई मनोपरामर्श सेवा प्रदान भइरहेको छ। साथै, दुर्गम तथा हिमाली क्षेत्रका विभिन्न पालिकामा हाई अल्टिच्युड क्लिनिक स्थापना गर्न बजेट विनियोजन गरिएको छ।
मन्त्रालयले लामो समयदेखि रोकिएको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गरी ९७७ वटा नयाँ सङ्घीय दरबन्दी थप गरेको छ। नर्सिङ तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन न्यूनतम तलब र रात्रिकालीन भत्तामा समेत वृद्धि गरिएको छ।
यस्तै, स्वास्थ्य सुरक्षा तथा उपभोक्ता हितलाई ध्यानमा राख्दै मोबाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालनमा ल्याइएको छ। उक्त भ्यानमार्फत हालसम्म १५ हजार ६९० वटा खाद्य नमुनामा विषादी अवशेष परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया