यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।