काठमाडौं । काठमाडौंमा विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि तत्कालका लागि स्थगित भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आन्दोलनरत पक्षसँग भएको छलफलमा दृष्टिविहीन समुदायले उठाएका मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएको हो।
सहमतिअनुसार, माइतीघर मण्डलामा सञ्चालन भइरहेको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। साथै, मागहरू सम्बोधन नभएसम्म तथा साउन मसान्तसम्म दृष्टिविहीन समुदायले सञ्चालन गरिरहेका कला, सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधि हाल सञ्चालन भइरहेका स्थानमै कुनै अवरोधबिना जारी राख्न दिइनेछ।

वार्तामा दृष्टिविहीन समुदायका माग सम्बोधनका लागि महिला मन्त्रालयले युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आवश्यक समन्वय गरेर समाधान प्रक्रिया अघि बढाउने सहमति भएको छ।
दृष्टिविहीन समुदायले सीप र योग्यताअनुसार रोजगारीको सुनिश्चितता, सीपमूलक तालिम, बीउपूँजी तथा बजारीकरण, रोजगार गर्न असमर्थ व्यक्तिका लागि जीवननिर्वाहयोग्य बेरोजगार भत्ता, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री तथा प्रविधिको उपलब्धता, सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रभावकारी कार्यान्वयन, दृष्टिविहीन व्यक्तिका छोराछोरीलाई निःशुल्क शिक्षा तथा बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न माग गरेका छन्।
वार्तापछि दुवै पक्षले सम्बन्धित मन्त्रालयहरूसँग नियमित संवाद, समन्वय र सहकार्यलाई निरन्तरता दिँदै दृष्टिविहीन समुदायका जायज मागहरू चरणबद्ध रूपमा सम्बोधन गर्ने समझदारी गरेका छन्। यससँगै दुई सातादेखि जारी आन्दोलन तत्कालका लागि स्थगित भएको छ।

















प्रतिक्रिया