युथ कांग्रेसले आत्मदाहमा ज्यान गुमाएका गणेशको सम्झनामा माइतीघरमा गर्यो दीप प्रज्वलन


काठमाडौं l आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

युथ कांग्रेसमा आबद्ध युवाहरूले दिवंगत नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्यले नागरिकका समस्या सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।