काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति विवादमा परेपछि सार्वजनिक रूपमा माफी माग्दै आगामी एक वर्ष अत्यावश्यक सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि सञ्चारमाध्यमलाई अन्तरवार्ता नदिने घोषणा गरेका छन्।

केही दिनअघि सामाजिक सञ्जालमा सक्रिय पत्रकारहरूसँगको अन्तरवार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने अभिव्यक्ति दिएपछि व्यापक चर्चा र आलोचना भएको थियो।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पुनले उक्त अभिव्यक्ति फिर्ता लिएको जनाएका छन्। उनले लेखेका छन्, “केही दिनअघि सामाजिक सञ्जालका केही पत्रकारलाई अन्तरवार्ता दिँदा ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्छ भनेर मैले बोलेको कुरा फिर्ता लिन्छु। त्यसबाट अज्ञानवश कसैलाई चोट पुगेको भए माफी चाहन्छु। ट्राफिक नियम अटेर गर्नेहरूले भने मुटुमा हात राखेर सोच्नुपर्छ।”
पुनले अब एक वर्षसम्म ठूला–साना युट्युबर, सामाजिक सञ्जाल वा अन्य सञ्चारमाध्यमलाई अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि अन्तरवार्ता नदिने घोषणा पनि गरेका छन्।
उनका अनुसार अन्तरवार्ताका क्रममा आफूले ट्राफिक जरिवानाको विषयमा धेरै जानकारी नभएको बताउँदाबताउँदै पनि पटक–पटक सोधिएपछि प्रतिक्रिया दिएको दाबी गरेका छन्। उनले ५० हजार रुपैयाँ जरिवानाको विषय आफूले नभई अन्तर्वार्ता लिने पक्षबाट उठाइएको जिकिर गर्दै आफूले ट्राफिक नियम अटेर गर्नेलाई आवश्यक जरिवाना र सजाय हुनुपर्ने आशय मात्र व्यक्त गरेको स्पष्ट पारे।
साथै, उनले नियम उल्लंघन गर्ने र अपराध गर्नेहरूलाई आवश्यक दण्ड–सजाय नदिए समाज र देशमा सुशासन कायम गर्न कठिन हुने धारणा पनि व्यक्त गरेका छन्।


















प्रतिक्रिया