सुकुमवासीलाई एक जोखिमबाट निकालेर अर्को जोखिममा धकेल्यो सरकारले : भीष्मराज आङ्देम्बे


काठमाडौं । प्रधानमन्त्री बालेनले गरेको सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो भन्दै प्रश्न, पीडितको पक्षमा उभिने युवामाथिको दमन लोकतन्त्रमाथिको आक्रमण भएको आरो

प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्नुको सट्टा अझ भयावह जोखिममा धकेलेको आरोप लगाएका छन्।

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुकुमवासी नागरिकको सुरक्षित तथा व्यवस्थित स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता स्मरण गराउँदै उक्त वाचा कार्यान्वयन नभएको भन्दै प्रश्न उठाए। “प्रधानमन्त्रीजीले ज्यान जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ भन्नुभएको थियो। आज म सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?” उनले भने।

आङ्देम्बेका अनुसार जोखिमयुक्त बस्तीबाट हटाइएका सुकुमवासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त नगरी अर्को अझ ठूलो संकटमा धकेलेको स्पष्ट भएको छ।

उनले सुरक्षित आश्रयको आश्वासन पाएका नागरिक अहिले भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको ज्वलन्त उदाहरणको रूपमा चित्रण गरे।

आङ्देम्बेले सरकारमाथि प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजिएको आरोप पनि लगाए। उनका अनुसार होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवा माजिद अन्सारीसहितका व्यक्तिलाई बलपूर्वक नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हो।

“लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो?” भन्दै उनले प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको अवस्थामा आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको टिप्पणी गरे।

आङ्देम्बेले अन्त्यमा प्रधानमन्त्री बालेनलाई सुकुमवासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गर्दै इतिहासले भाषणभन्दा पनि नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए वा भएनन् भन्ने कुराको मूल्याङ्कन गर्ने बताएका छन्।