काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै दीपाश्री हाल आईसीयूबाट जनरल वार्डमा सारिएको र स्वास्थ्यलाभ गरिरहेको बताएका छन्।
दीपकराजका अनुसार फिल्म ‘छ माया छपक्कै २’ को छायांकनका क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि निर्माण टोली केही समय अन्योलमा परेको र तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।
उपचारका लागि भारत जानुपर्ने सुझाव धेरैबाट आए पनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताएका छन्। भगवान पशुपतिनाथको कृपाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र दीपाश्रीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उनले दिएका छन्।
दीपकराजले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै दर्शक, शुभचिन्तक तथा सबैबाट प्राप्त प्रार्थना, माया र आशीर्वादका लागि धन्यवाद समेत व्यक्त गरेका छन्।


















प्रतिक्रिया