देशभर मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना; सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर अधिकांश स्थानमा बादल लागेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी, तथा पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ।

मौसम विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।