गाडी पार्किङ घटनाप्रति भीष्मराज आङ्देम्बेको आपत्ति, ‘जनआवाज छेक्न सकिँदैन’


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रमुख विपक्षी दलका सभापति गगनकुमार थापाको निवास तथा सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले गेटअगाडि गाडी राख्ने घटना सामान्य पार्किङ नभई आलोचनात्मक आवाजलाई दबाउने प्रयास भएको दाबी गरेका छन्। उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहन सक्ने क्षमता भएको उल्लेख गर्दै आलोचनाबाट डराएर प्रश्न गर्नेहरूलाई निशाना बनाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।

आङ्देम्बेले यतिबेला सहकारी पीडित, मिटरब्याजपीडित, सुकुम्बासीलगायत विभिन्न समुदाय न्यायको खोजीमा आन्दोलनरत रहेको तथा बेरोजगारी र सुशासनका प्रश्न गम्भीर बन्दै गइरहेको उल्लेख गरेका छन्। यस्ता विषयमा जवाफ दिनुपर्ने सरकारले सञ्चारमाध्यम र विपक्षी नेतामाथि दबाब सिर्जना गर्ने शैली अपनाएको आरोप पनि उनले लगाएका छन्।

उनले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई जनताका सामु राज्यका कामकारबाही प्रस्तुत गर्ने ऐना भएको उल्लेख गर्दै स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।

आङ्देम्बेको भनाइमा, “गाडीले गेट छेक्न सकिएला, तर जनआवाज र प्रश्नको बाटो कहिल्यै छेक्न सकिँदैन।”