सञ्चारमाध्यमको गेटअघि गाडी राख्नेमाथि कारबाही हुन्छ : रवि लामिछाने


काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको गेटअघि गाडी पार्किङ गर्ने जो–कोहीमाथि कारबाही हुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुने बताए।

रास्वपा नेता वा कार्यकर्ता पनि उक्त घटनामा संलग्न भए कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, “किन हुँदैन? त्यस्तो पनि प्रश्न हो र? रास्वपा त्यो पार्टी हो जसले ७२ घण्टाभित्र आफ्नै सांसदलाई कारबाही गरेको छ। रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ? जो भए पनि कारबाही हुन्छ।”

लामिछानेले यस विषयमा रास्वपाले सोमबार नै विज्ञप्ति जारी गरिसकेको उल्लेख गर्दै त्यसमा व्यक्त प्रतिबद्धताअनुसार अघि बढ्ने बताए।

यसक्रममा सञ्चारकर्मीहरूले केही मन्त्रीहरू अझै कालो सिसा जडित गाडी प्रयोग गरिरहेको तर कारबाही नभएको विषय उठाएका थिए। त्यसको जवाफमा लामिछानेले कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही हुने स्पष्ट पारे।