प्रधानमन्त्रीसँगको भेटपछि राप्रपा सचेतक ओलीले सार्वजनिक गरिन् छलफलका विषय


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तापछि छलफलका मुख्य विषय सार्वजनिक गरेकी छन्।

ओलीका अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बुद्धिमान तामाङ र उनी स्वयंले प्रधानमन्त्री शाहसँग भेट गरी संविधान संशोधन, स्वास्थ्य बीमा, कृषि मल आपूर्ति, सुकुम्बासी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गरेका हुन्।

उनका अनुसार भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनबारे राप्रपाको धारणा राखेका थिए। त्यसक्रममा प्रधानमन्त्री शाहले संविधान संशोधनसम्बन्धी बहसपत्र एक–दुई दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

स्वास्थ्य बीमा कार्यक्रम स्थगनबारे भएको छलफलमा प्रधानमन्त्री शाहले उक्त कार्यक्रम स्थायी रूपमा बन्द नभई सुधारका लागि अस्थायी रूपमा रोकिएको स्पष्ट पारेका छन्। स्वास्थ्य बीमा प्रणालीभित्र देखिएका विकृति, अनियमितता र दुरुपयोगलाई सुधार गरेपछि कार्यक्रम पुनः सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको ओलीले उल्लेख गरेकी छन्।

कृषि क्षेत्रमा देखिएको मल अभावबारे अध्यक्ष लिङ्देनले सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री शाहले युरिया मल आपूर्तिको प्रक्रिया अघि बढिसकेको र किसानलाई पुस–माघसम्म अभाव हुन नदिने गरी पर्याप्त मल उपलब्ध गराइने जानकारी दिएका छन्।

सुकुम्बासी व्यवस्थापनबारे वरिष्ठ नेता बुद्धिमान तामाङले उठाएको विषयमा सरकारले वास्तविक सुकुम्बासी र गैर–सुकुम्बासीलाई छुट्याएर व्यवस्थापन गर्ने नीति लिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। स्थानान्तरण गरिएका परिवारका लागि व्यवस्थित बसोबासको व्यवस्था गरिएको तथा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने पनि प्रधानमन्त्रीको भनाइ रहेको ओलीले उल्लेख गरेकी छन्।

त्यस्तै, जनआन्दोलन (Gen Z आन्दोलन) का घाइतेहरूको उपचार र सरकारी रेखदेखको जिम्मेवारी गृहमन्त्रीलाई दिइएको जानकारी पनि प्रधानमन्त्रीले गराएको उनको दाबी छ।

ओलीले आफूले भेटका क्रममा कार्यपालिका र संसदबीच पर्याप्त संवाद र समन्वयको अभाव रहेको विषय उठाएको पनि बताएकी छन्। प्रभावकारी संवादको कमीले अनावश्यक राजनीतिक जटिलता सिर्जना हुन सक्ने भन्दै प्रधानमन्त्रीले संसद र सांसदहरूसँग नियमित संवाद कायम राख्नुपर्ने आवश्यकता औंल्याएको उनको भनाइ छ।

उनका अनुसार प्रधानमन्त्री शाहले उक्त सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए।

खुश्बु ओलीले सरकारको धारणा र प्रतिबद्धताबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले यी विषयहरू आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बताएकी छन्।