काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमार्फत थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाको पक्षमा जीवनभर निर्भीक रूपमा उभिएका डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व तथा लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन्।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा डा. पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरेको उल्लेख गरेका छन्।
थापाले अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टिकोण दिएको उल्लेख गर्दै सार्वजनिक जीवनमा देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने विश्वास व्यक्त गरेका छन्।
उनले सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा डा. पाण्डेको योगदान विशेष स्मरणीय रहने र उनले प्रज्वलित गरेको नागरिक चेतनाको दीप तथा छाडेको बौद्धिक सम्पदाले आगामी पुस्तालाई निरन्तर मार्गदर्शन गर्ने बताएका छन्।
डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो। अस्वस्थ भएपछि उनलाई पाटन अस्पताल लगिएको थियो भने उपचारपछि शुक्रबार नै निवास फर्काइएको थियो।

















प्रतिक्रिया