स्वदेशी जुत्ताचप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता


काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) ले प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपाली जुत्ता–चप्पल तथा छालाजन्य उद्योगका समस्या, समाधानका उपाय र विदेशी वस्तुको प्रतिस्थापनबारे छलफल गरेको छ।

शुक्रबार भएको छलफलमा भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी–पैठारी नियन्त्रण गर्न, गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात रोक्न र आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्नुपर्ने विषयमा जोड दिइएको संघले जनाएको छ।

त्यसैगरी, आयातित वस्तुमा कन्ट्री अफ ओरिजिन एमआरपी लेबलिङ तथा गुणस्तर मापदण्ड अनिवार्य रूपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।

संघका अनुसार छलफलमा कच्चा पदार्थ आयातमा देखिएका समस्या, दक्ष जनशक्तिको अभाव तथा छालाजन्य कच्चा पदार्थको आपूर्तिमा रहेका अवरोध हटाउन कूटनीतिक तथा नीतिगत सहजीकरण आवश्यक रहेको विषय पनि उठाइएको थियो। साथै, रोजगारी सिर्जनामा फुटवेयर उद्योगको योगदानलाई ध्यानमा राख्दै तालिम केन्द्र सञ्चालनमा सहजीकरण गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

छलफलमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भण्डारी, पूर्व उपाध्यक्ष कालिदास गौतम साथै सदस्त प्रतिनिधि सभा सद्स्य माननीय बिदुषी राणाको सहभागिता रहेको थियो ।