काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सांसद न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने समय आइसकेको बताएका छन्। उनले यस्तो समीक्षा गर्न ढिलाइ गरिए भविष्यमा अकल्पनीय परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
उनले विगतका श्रृङ्खलाबद्ध घटनाक्रमले न्यायालयको पुनर्संरचना अपरिहार्य रहेको संकेत गरेको दाबी गर्दै न्यायालयमा सुधारबिना सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन कठिन हुने उल्लेख गरेका छन्।
“न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ,” उनले लेखेका छन्।
सांसद न्यौपानेले राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै आफ्नो धारणा आवेगमा नभई गम्भीर समीक्षाबाट आएको निष्कर्ष भएको बताएका छन्।

















प्रतिक्रिया