काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारको नियतमाथि कुनै शङ्का नरहेको बताएका छन्। शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा उनले सरकारका निर्णय कार्यान्वयनका क्रममा समस्या आउन सक्ने भए पनि आवश्यक परे ती निर्णय सच्याउँदै अघि बढ्ने बताए।
लामिछानेले निर्णयमा कमजोरी देखिए सुधार गर्न सकिने तर नियत नै खराब भए त्यसलाई सच्याउन कठिन हुने उल्लेख गरे।
उनले भने, “सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ। तर नियत खराब भयो भने त्यसलाई करेक्सन गर्न गाह्रो हुन्छ। राम्रो उद्देश्यका साथ गरिएको निर्णयले व्यवहारमा विवाद ल्याउन सक्छ। किसानको हितका लागि गरिएको निर्णय नै व्यवहारमा किसानकै विपक्षमा गयो भने त्यसलाई सच्याउन सकिन्छ।”
उनले सरकारका निर्णयले अपेक्षित लाभ नदिई हानि पुर्याएको पुष्टि भए त्यस्ता निर्णय परिवर्तन गरिने स्पष्ट पारे।
उनका अनुसार, “जसको हितका लागि निर्णय गरिएको हो, त्यसैलाई हानि पुग्यो भने निर्णय परिवर्तन हुन्छ, त्यसमा चिन्ता लिनुपर्दैन। तर नेतृत्वले निश्चित उद्देश्य र दीर्घकालीन दृष्टिका साथ निर्णय गरेको हुन्छ, त्यसलाई कार्यान्वयन गर्ने क्रममा देखिएका चुनौतीका कारण नकारात्मक भाष्य पनि सिर्जना हुन सक्छ। धेरै ठूलो क्षति हुने अवस्था आए त्यस्ता निर्णय तत्काल संशोधन गर्नुपर्छ।”

















प्रतिक्रिया