कारागारमा तनाब पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास


मधेस प्रदेश । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्।

शनिबार बिहान कारागारभित्र विवाद उत्पन्न भएपछि उनीहरूले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेको कारागार प्रशासनले जनाएको छ।

कारागारका प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीहरूबीच आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए।

उनका अनुसार घटनापछि कारागारभित्र आन्तरिक छलफल भइरहेको छ। आत्मदाहको प्रयास भए पनि घटनास्थलमै चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन।

घटनाको वास्तविक कारण भने हालसम्म खुलाइएको छैन। कारागार प्रशासनले विवादबारे थप अनुसन्धान भइरहेको जनाएको छ।