काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
सांसद ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको बताएकी छन्। शनिबार चितवनबाट दुवै जना पुरुष पक्राउ परेका हुन्।
सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, धम्की, घृणास्पद अभिव्यक्ति तथा चरित्रहत्या गरेको आरोप लगाउँदै ओलीले शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। उजुरी दर्तापछि उनले आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।
ओलीका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक समाजमा असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु स्वाभाविक र स्वागतयोग्य भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताएकी छन्।

















प्रतिक्रिया