जापानबाट ज्ञानेन्द्र शाहीको कटाक्षपूर्ण स्टाटस, ‘जापानको रक्सी पनि कडा रहेछ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध भइरहेको आलोचनाप्रति कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक स्टाटस सार्वजनिक गरेका छन्।

केही दिनदेखि जापानमा रहेका शाहीले शनिबार राति फेसबुक लाइभमार्फत आफूविरुद्ध भ्रामक प्रचार भएको दाबी गर्दै रास्वपा समर्थकहरूप्रति आक्रोश व्यक्त गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि त्यसलाई लिएर विभिन्न प्रतिक्रिया र टिप्पणी भइरहेका छन्।

यसैबीच शाहीले कविताको शैलीमा स्टाटस लेख्दै आफूले बोलेका कुरा ‘सत्य’ भएको दाबी गरेका छन्। उनले सहकारी ठगी, विभिन्न समूह र आलोचकहरूलाई लक्षित गर्दै व्यंग्य गरेका छन्।

ज्ञानेन्द्र शाहीले फेसबुकमा लेखेको स्टाटस (जस्ताको तस्तै):

जापानको रक्सी पनि कडा रहेछ !

वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ।

सहकारी ठगलाई ठग नै भनिएछ।

गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ।

खराने ग्याङलाई खराने ग्याङ नै भनिएछ।

टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिएछ।

नोट: खाँदै नखाएको रक्सी पनि लागेछ!

ल, विश्वभरिका बेरोजगार केटाहरू हो!

आज तिमीहरूको डलर टन्नै झर्छ।

जति रोस्ट गर्न मन छ, गर।

जति स्टाटस लेख्न मन छ, लेख।

आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ।

नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो!

Screenshot