शर्माको बाचा पूरा : सुनझोडामा मोटरेबल पक्की पुल उद्घाटन


मोरङ। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनील शर्माले मोरङको सुनझोडा खोलामाथि निर्माण सम्पन्न मोटरेबल पक्की पुल उद्घाटन गरेका छन्।

पथरीशनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने करिब ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासीको दशकौँदेखिको सास्ती अन्त्य भएको छ। वर्षायाममा खोला तरेर विद्यालय जाने विद्यार्थी, उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई पुलले ठूलो राहत पुगेको स्थानीयको भनाइ छ।

पुल निर्माणका लागि शर्माको पहलमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट ८ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माणको ठेक्का विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रालिसँग ५ करोड ६८ लाख ९४ हजार रुपैयाँमा सम्झौता गरिएको थियो। करिब डेढ वर्षमा निर्माण सम्पन्न भएको हो।

शर्माले २०८२ जेठ १७ गते यही पुलको शिलान्यास गरेका थिए। स्थानीयसँग गरेको प्रतिबद्धता अनुसार निर्माण सम्पन्न भएपछि उनैले पुल उद्घाटन गरेका हुन्। एउटै नेताले शिलान्यास गरेको आयोजना आफैँले सम्पन्न गराएर उद्घाटन गरेको भन्दै स्थानीयले यसलाई उत्तरदायित्व र विश्वासको उदाहरणका रूपमा लिएका छन्।

उद्घाटन समारोहमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले फूलमालासहित शर्माको स्वागत गर्दै पुल निर्माणले स्वास्थ्य, शिक्षा, बजार तथा दैनिक जीवनयापनमा सहजता ल्याएको बताए।

नेपाली कांग्रेसका नेता तथा भूमि आयोगका पूर्वअध्यक्ष वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका वडासभापति लोकनाथ अधिकारीले सभापतित्व गरेका थिए। कार्यक्रममा पथरीशनिश्चरे–२ का वडाअध्यक्ष नैना राई, उर्लाबारी–३ का वडाअध्यक्ष भीष्म बुढाथोकी, समाजसेवी रुपनारायण भट्टराईलगायतको उपस्थिति थियो।

उद्घाटनपछि शर्माले आफ्नो बाल्यकाल स्मरण गर्दै खाली खुट्टा सुनझोडा खोला तरेर हिँड्नुपरेका दिन सम्झिए। उनले विकासको वास्तविक अर्थ नागरिकको दैनिकी सहज बनाउनु भएको बताए।

निर्वाचनमा पराजित भएपछि पनि आफू जनतामाझ निरन्तर सक्रिय रहेको उल्लेख गर्दै शर्माले निःशुल्क स्वास्थ्य उपचार, आकस्मिक स्वास्थ्य सहयोग तथा खानेपानी अभाव भएका बस्तीमा इनार निर्माणजस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै आएको बताए।

स्थानीयका अनुसार सुनझोडाको यो पुलले दुई किनारा मात्र होइन, जनतासँग गरिएको प्रतिबद्धता पनि जोडेको छ।