काठमाडौं । सरकारले मन्त्रालय तथा निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न नभएसम्म स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साविकका २२ मन्त्रालयलाई घटाएर १८ कायम गरिएपछि गाभिएका, नवगठित मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षण अन्तिम चरणमा पुगेको छ।
सर्वेक्षण सम्पन्न भएपछि केही पदको दरबन्दी हालको भन्दा घट्न सक्ने र केही कर्मचारी फाजिलमा पर्न सक्ने अवस्था रहने भएकाले दरबन्दी मिलानलाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिविना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा नयाँ माग नपठाउने निर्णय साउन ४ गते बसेको सचिवस्तरीय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, कुनै पदमा पदपूर्ति आवश्यक परे फाजिल कर्मचारीको व्यवस्थापन सम्पन्न भएपछि रिक्त हुने पद वा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीका रिक्त पदमा भने नियमित प्रक्रियाअनुसार लोकसेवा आयोगमा माग पठाइने सरकारको भनाइ छ।
सरकारले मन्त्रालय पुनर्संरचना र कर्मचारी व्यवस्थापनको प्रक्रिया पूरा नभएसम्म नयाँ स्थायी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको जनाएको छ।


















प्रतिक्रिया