हेटौंडा – बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) तथा पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई आधार बनाएर सरकारमा सहभागी सबै मन्त्रीले तत्काल प्रभावबाट लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ। पत्रमा राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
थपलियाले सरकारलाई एमालेको समर्थनसमेत फिर्ता लिइएको पुष्टि गरेका छन्।
एमालेका तर्फबाट सरकारमा मधुसुदन पौडेल (कृषि, पशुपन्छी तथा वन–वातावरण), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), जयराम थापा (यातायात विषय हेर्ने), भरतबहादुर केसी (वन तथा वातावरण विषय हेर्ने), किरण थापा (स्वास्थ्य विषय हेर्ने) र बिन्दु श्रेष्ठ (उद्योग, पर्यटन, श्रम तथा यातायात) मन्त्रीका रूपमा कार्यरत थिए।
गत असार ३२ गते मन्त्रिपरिषद् बैठकमा सहभागी भएर काठमाडौं फर्किएका मन्त्रीहरू पार्टीको निर्देशनपछि राजीनामा बुझाउन मंगलबार हेटौंडा पुगेका थिए।
मन्त्री मधुसुदन पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्णयअनुसार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालन हुँदै आएको थियो। करिब दुई वर्षपछि एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अब नेपालको संविधानअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

















प्रतिक्रिया