बाजुराकी डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट


काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुन सफल हुनुभएको छ।

प्रहरी संगठनभित्र व्यावसायिक, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित बोहराले अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन तथा प्रभावकारी समन्वयात्मक कार्यशैलीमार्फत उत्कृष्ट कार्यसम्पादन गर्दै उच्च मूल्यांकन प्राप्त भएको हो।

भौगोलिक रूपमा विकट जिल्ला बाजुरामा उहाँको नेतृत्वमा घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा गाँजा फडानीजस्ता सामाजिक विकृति र विसंगतिविरुद्ध प्रभावकारी अभियान सञ्चालन हुँदै आएका छन्।

यस्तै, जिल्लाको हिमाली गाउँपालिका–३ लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनापछि अनुसन्धानका लागि उहाँ स्वयं घटनास्थलमा पुगेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

डीएसपी बोहराको उत्कृष्ट कार्यसम्पादनले प्रहरी संगठनभित्र उहाँको व्यावसायिक क्षमता, नेतृत्वदक्षता र जनमुखी प्रहरी सेवाप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।